हरेक वर्ष चैते दसैँको अवसरमा लाग्ने विक्रमबाबा मेला आजबाट सुरु

चितवन, १८ चैत ।

हरेक वर्ष चैते दसैँको समयमा मनाइने विक्रमबाबा मेला आजदेखि सुरु भएको छ । कोरोना कहरका कारण विगत दुई वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला आज देखि सुरु भएको हो । निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा पूजाआजा गरी परेवा उडाएर औपचारीक रुपमा मेलाको सुरुआत गरिएको छ । केरुङ्गा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेलका अनुसार दुई वर्षसम्म रोकिएको मेला सुरु भएसँगै भक्तजनको चाप बढेको छ ।

आगामी वैशाख ३ गतेसम्म लाग्ने विक्रमबाबा मेलामा केरुङ्गा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजाको व्यवस्थापन गर्ने छन् भने घैलाघारी सामुदायिक वनले पार्किङ्को व्यवस्थापन गर्ने छ । पटिहानी उपभोक्ता समितिका उपाध्यक्ष कृष्णहरि शर्माले विक्रमबाबा मेलामा आउने भक्तजनको चापलाई मध्यनजर गर्दै व्यवस्थापनको काम गरिएको बताउनुभयो ।

दुई वर्षदेखि हुन नसकेको मेला अहिले हुन लाग्दा भक्तजनको चाप बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसवर्ष मेला भर्न वा पूजा गर्न आउने भक्तजनको सङ्ख्या पाँच लाख हुने अनुमान गरेका छाँै ।” पूजा व्यवस्थापनका लागि १० सदस्यीय समिति बनाइएको उहाँले जानकारी दिनुभयो ।

मन्दिरमा पूजा गर्नका लागि बिहान ६ बजे देखि साँझ ५ बजेसम्म समय तोकिएको छ । साँझ ५ बजेपछि जङ्गली जनाबरको चहलपहल हुने भएकाले सो समय निर्धाारण गरिएको उहाँको भनाइ छ । मेला सञ्चालन गर्न आउने व्यवसायीलाई साँझ ६ बजेपछि व्यवसाय बन्द गर्न लगाइने घैलाघारी सामुदायिक वनका अध्यक्ष लीलाराज भुषालले बताउनुभयो । मेला व्यवस्थापनका लागि १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

आठवटा उपसमिति निर्माण गरी मेला व्यवस्थापनको काम गरिएको छ । उहाँले भन्नुभयो, “सामुदायिक वन क्षेत्रभित्र दिउँसोमा पार्किङ र मेलाको व्यवस्थापन गरिए पनि साँझ ६ बजेपछि मेला बन्द गर्ने गरी निर्णय गरेका छौँ ।” भरतपुरतर्फबाट गएका र माडीतर्फबाट आउने सवारीलाई निकुञ्ज बाहिर पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारु जातिमा प्रचलनमा रहेको छ ।

विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिएको पाइन्छ । रासस

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

झापामा बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु

११ लाख बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा फेसबुक बिरुद्ध अदालतमा उजुरी

गैंडाकोटमा मंसिर १२ र १३ गते सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) हुँदै

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ