गैँडाकोट, १९ चैत । स्थानीय तहको निर्वाचनपछि आएका जनप्रतिनिधिहरुले स्वास्थ्य, शिक्षा, खानेपनी सहित भौतिक पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएका छन् । गैँडाकोट नगरपालिका वडा नम्बर १३ र १६ जोड्ने गरी बेल्डीहा खोलामा पुल निर्माण भइरहेको छ ।
वडा नम्बर १३ को गणेश मार्गबाट वडा नम्बर १६ जोड्ने पुल निर्माण भएपछि वडा नम्बर ११, १२, १३, १६ र १७ का १५ हजार बढी स्थानीय लाभान्वित हुने गैँडाकोट १३ का वडाअध्यक्ष पदमलाल पौडेलले बताउनुभयो । पौडेलकाअनुसार आठ वटा पिल्लर रहनेगरी ४० मिटर लम्बाई तथा ११ मिटर चौडाईको पुल निर्माण भइरहेको छ ।
सो पुलको लागत करिब चार करोड ३१ लाख रुपैयाँ रहेको वडाध्यक्ष पौडेलले बताउनुभयो । स्थानीय जनप्रतिनिधि आउनु अघिसम्म वडाको विकास निर्माणमा खासै काम नभएपछि आफू आएपछि भने उल्लेख्य काम गरेको पौडेलले बताउनुभयो । आफू जनप्रतिनिधिको रुपमा आएपछि पौडेलले स्वास्थ्य, खानेपानी, सिँचाई, विद्युतीकरण, मठमन्दिर निर्माण, शैक्षिक लगायतका धेरै ठाउँमा काम भइरहेको पौडेलले बताउनुभयो ।
सबैको सहयोगले वडाको विकासको काम भइरहेको वडाअध्यक्ष पौडेलले बताउनुभयो । त्यसैगरी वडा नम्बर १३ मा दाहसंस्कार घाटको समुचित व्यवस्थापनका लागि समेत नगरपालिकासँग सहकार्य गर्दै काम गरेको पौडेलले बताउनुभयो । पौडेलकाअनुसार नगरपालिकाबाट ल्याएको बजेटले नपुगेपछि स्थानीय जनताको साथ र सहयोगबाट व्यवस्थित दाह संस्कार घाट निर्माण भइरहेको छ । जीवन र मृत्यु सँगसँगै हुन्छ भन्ने सन्देश दिनका लागि घाटमा शौचालय, खानेपानी, विश्राम स्थललगायतका संरचनाहरु निर्माण गरेको पौडेलले बताउनुभयो ।