चितवन, २७ चैत्र ।
नेकपा एमाले चितवनले भरतपुर महानगरपालिका प्रमुखमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । आइतबार पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटीको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सुवेदी वाग्मती प्रदेश सभा सदस्य समेत हुनुहुन्छ । विसं २०७४ मंसिरमा सम्पन्न निर्वाचनमा उहाँ चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । भरतपुरको मेयरमा एमालेबाट पोलिटब्युरो सदस्य देविप्रसाद ज्ञवाली र कृष्णभक्त पोखरेलको पनि चर्चा थियो । ज्ञवालीले नै सुवेदीलाई मेयर पदको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको थियो । सुवेदीलाई मेयरको उम्मेदवार बनाउन पोलिटब्युरो सदस्य ज्ञवालीले प्रस्ताव र नेता पोखरेलले समर्थन गर्नुभएको थियो ।
विसं २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ज्ञवाली भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार हुनुहुन्थ्यो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल हुँदा उहाँ झिनो मतान्तरले पराजित हुनुभएको थियो । पोखरेल प्रतिनिधि सभाका सांसद हुनुहुन्छ । उहाँ संसद्को कानून, न्याय तथा मानवअधिकार समितिका सभापति पनि हुनुहुन्छ । उहाँले कार्यकर्ताले मेयरमा उठ्न दवाद दिए पनि आफ्नो स्थानीय तहमा फर्किर्ने इच्छा नरहेको बताउँदै आउनुभएको थियो । मेयरको उम्मेदवार घोषणा गरिनुभएका सुवेदी वृहत् चितवनको गुरूयोजना निर्माणका अगुवा हुनुहुन्छ ।
उहाँ चितवनमा विकासको भिजन भएका नेताका रूपमा परिचित हुनुहुन्छ । वाग्मती प्रदेशमा अष्ठलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सुवेदी सामाजिक विकास मन्त्री समेत हुनुभएको थियो । सुवेदी नेकपा विभाजन भएपछि नेकपा एमालेको वाग्मती प्रदेश सचिवालय सदस्य हुनुभएको थियो । एमाले महानगर कमिटीको बैठकले उपमेयरको उम्मेदवार भने तोकेको छैन । एमालेले भरतपुर महानगरमा राप्रपालगायतका दलहरुसँग तालमेल गर्ने तयारी गरेको छ । त्यसैका लागि अहिले उपमेयरको उम्मेदवार नतोकिएको स्रोतले बतायो ।