चितवन, २९ चैत । भरतपुर महानगरपालिकाको मेयर पदमा आफ्नै पार्टीको उम्मेदवार हुनु पर्ने भरतपुरका २९ वटै वडाका कांग्रेस पार्टी सभापतिहरूले माग गरेका छन् । कांग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा मंगलबार बसेको वडा समितिका सभापतिहरूको बैठकले निर्णय नै गरेर मेयरमा कांग्रेसकै उम्मेदवार हुनु पर्ने माग गरेको हो ।
बैठकको निर्णय वडा सभापतिहरुले केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरण गरेका छन् । निर्णय बुझ्दै जिल्ला सभापति खनालले आफ्नो चाहाना पनि वडा सभापतिहरुको निर्णयसंग मेल खाने भन्दै निर्णय हुबहु केन्द्रमा पठाउने प्रतिवद्धता जनाए ।
केन्द्र, जिल्ला र महानगरले गठवन्धन गर्ने निर्णय गरेपनि वडा सभापतिहरु कुनै पनि गठवन्धनको पक्षमा नरहने निश्कर्षमा पुगेका छन । गत चैत्र २० गते ५ दलीय गठवन्धन अनुसार नै तालमेल गर्ने निर्णयमा पार्टी समेत संलग्न भएकोमा असन्तुष्टि जनाउँदै वडा सभापतिहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन । वडा सभापतिहरुको संयुक्त निर्णय विपिरित गठवन्धन गरिएमा भरतपुर महानगरमा मेयर, उप–मेयर र सबै वडामा अध्यक्षसहितका ५ जना उम्मेदवार खडा गर्ने चेतावनी उनीहरुको छ ।
साथै वडा सभापतिहरुले आफुहरुले भनेको नभए गठवन्धनका सबै उमेदवारहरुलाई बहिस्कार गर्ने निर्णय पनि गरेका छन ।