नवलपुर, ४ वैशाख । नवलपुरका ३० हजार ९ सय ८९ बालबालिकालाई बैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ । ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार जिल्लामा ६ देखि ५९ महिनासम्मका बालबालिकाको संख्या ३० हजार ९ सय ८९ रहेको छ । यी सबै बालबालिकालाई भिटामिन ए खुवाइँदै छ ।
उहाँका अनुसार एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि साथै खुवाइने छ । यो उमेर समूहमा २७ हजार ३९ जनसंख्या रहेको छ । ३६२ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत् औषधि खुवाउने अभियान सञ्चालन हुने चापागाईले जानकारी दिनुभयो । प्रत्येक वडामा तोकिएको बुथमा गएर औषधि खुवाउन सकिने उहाँले बताउनुभयो ।