चितवनमा एक लाख ७४ हजार बालबालिकाले लगाए टाइफाइड रोगविरुद्धको खोप

चितवन, ६ वैशाख । जिल्लामा सञ्चालन गरिएको टाइफाइड रोगविरुद्धको खोप एक लाख ७४ हजार १० जना बालबालिकाले लगाएका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको हो । गत चैत २५ गतेदेखि सुरु भएको खोप अभियानमा बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अभियान वैशाख ४ गते सकिएको छ ।

कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ७९ हजार २१६ र खैरहनी नगरपालिकामा १५ हजार २२८ बालबालिकाले खोप लगाएका छन् । यस्तै माडी नगरपालिकामा आठ हजार ८०४, रत्ननगर नगरपालिकामा २० हजार ५६२, राप्ती नगरपालिकामा १५ हजार ८६३, कालिका नगरपालिकामा १२ हजार ५५ र इच्छाकामना गाउँपालिकामा सात हजार २२४ बालबालिकालाई खोप लगाइएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । सो अभियानमा ५४० खोप केन्द्रबाट खोप दिइएको हो ।

टाइफाइडको समस्या बढीमात्रामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई हुने भएकाले बालबालिकालाई यो खोप लगाइएको उहाँले जानकारी दिनुभयो । दूषित खानेपानी र दिसापिसाब गरिसकेपछि साबुन पानीले हात नधोइ खानेबानी बालबालिकामा बढी हुने भएकाले यो रोगबाट बढीमात्रामा बालबालिका प्रभावित हुने गरेको उहाँले बताउनुभयो ।

यो रोग प्रति एक लाख जनसङ्ख्यामा एक हजार ६२ जनामा सङ्क्रमण देखिने गरेको छ । १५ वर्ष मुनिका बालबालिका एक लाखमा एक हजार ९६० जनामा देखिने गरेको पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययनले देखाएको उहाँले बताउनुभयो । राम्ररी पकाएको खानामात्रै खाने र खानेकुरा छोपेर राख्ने, बासी सडेगलेका र झिँगा भन्केको खाना नखाने, सफा र सुरक्षित पिउने पानीको मात्र प्रयोग गर्नेगरी यो रोगबाट बाँच्न सकिने उहाँले जानकारी दिनुभयो । रासस

 

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

जनक कलेजको वार्षिक उत्सबका कार्यक्रम अन्तर्गत मंगलबार चम्चा दौड प्रतियोगिता हुँदै

आज देखि निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आयो

आज कहाँ कहाँ पानी पर्दैछ ? जान्नुहोस्

जनक कलेजले वार्षिक उत्सब विविध कार्यक्रमहरु सहित मनाउँदै, सोमबार घैंटो फुटाई कार्यक्रम गर्दै

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज तोकिएको पेसी पनि स्थगित

माडीमा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु