रुपन्देही, ७ वैशाख । नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै आज जितगढी किल्लामा विजय दिवस मनाइएको छ ।
बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अङ्ग्रेजी फौजलाई परास्त गरेको थियो । विसं १८७२ वैशाख ७ गते नेपालले अङ्ग्रेजलाई हराएको थियो ।
विजय उत्सव दिवसका अवसरमा जितगढीमा आयोजित कार्यक्रममा कर्णेल उजिरसिंहको सालिकमा माल्यार्पण गरिनुका साथै नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराम सुवेदीले राष्ट्रिय एकता, अखण्डता र स्वाभिमानको रक्षा गर्ने सङ्कल्पको रूपमा यो दिनलाई स्मरण गर्नुपर्ने बताए ।
‘हाम्रा सन्ततिको जीवनमा समृद्धि र खुसी ल्याउने सङ्कल्पका रूपमा यसको संरक्षण र विकासका कामलाई अगाडि बढाएका छौँ’, उनले भने ।
शिवगढी, दाउन्नेगढीलगायतका सामरिक महत्त्वका गढीलाई जितगढीसँग जोडेर पर्यटकीय प्रवर्द्धन गर्ने बताउँदै उनले ऐतिहासिकता लेखिएको स्थललाई भावी सन्ततिले देख्ने र गर्व गर्ने गरी संरक्षण गरिनुपर्नेमा जोड दिए ।
नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको दिनको सम्झना गर्दै उपमहानगरपालिकाले गत वर्षबाट वैशाख ७ गतेको दिनलाई जितगढी विजय उत्सव दिवसका रूपमा मनाउन सुरु गरेको हो ।
किल्लालाई संरक्षण गर्दै उपमहानगरपालिकाले गुरुयोजना बनाएको छ । गुरुयोजनाअनुरूपका काम अहिले धमाधम भइरहेका छन् । जितगढीको महत्त्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरी बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरेको छ ।
उपमहानगरपालिकाले यसको गुरुयोजना निर्माण गरेर जितगढी क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना बनाएको छ । उपमहानगरपालिकाको योजना अनुसार जितगढी किल्ला रहेको भागको दक्षिण र उत्तर भागमा भौतिक संरचना बन्नेछन् ।
जितगढी किल्लासँगै रहेका कभर्ड हल र वडा कार्यालयलाई हटाइएको छ । किल्लाको वरिपरि रहेको सार्वजनिक जग्गामा मनोरम बगैंचा र राजमार्गभन्दा उत्तरको भागलाई सङ्ग्रहालय, रात्रिकालीन बजार, कोसेली पसल, बगैंचा बनाउने उपमहानगरपालिकाको योजना रहेको नगरप्रमुख शिवराज सुवेदीले बताए ।
जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका कर्णेल उजिरसिंहको पूर्ण कदको सालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ जना कमाण्डरको अर्धकदको सालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी गुरुयोजनाअनुरूपका काम अगाडि बढेको उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख विष्णु खनालले जानकारी दिए ।
गुरुयोजनाअनुसार दुई बिघा दुई कट्ठा ८।५२ धुरमा पहिलो चरणमा विभिन्न संरचना निर्माण भइरहेका छन्। जितगढी बटौली युद्ध सङ्ग्रहालयको समेत निर्माणकार्य चलिरहेको छ ।
नेपाल एकीकरणको अभियान ९सन् १७४३ बाट० सुरु भएकै बेलामा अङ्ग्रेज र नेपालबीच सीमानामा विवाद सिर्जना भएको थियो । विवाद समाधान गर्न सन् १७४४ मा नेपाली प्रतिनिधि तत्कालीन अङ्ग्रेजको राजधानी मानिएको कलकत्तामा पुगे पनि विवाद समाधान हुन सकेन ।
सन् १८०४ मा अङ्ग्रेजले भारतको मराठा राज्य आफ्नो अधिनमा लिएपछि नेपालतर्फ अघि बढेको थियो । सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सीमाना अवधसम्म पुगेको थियो । पाल्पाबाट भागेर गएका राजखलक र भारदारले अङ्ग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए।
त्यसैकारण नेपाल र अङ्ग्रेजबीचको सम्बन्ध बिग्रिएको थियो । बिग्रिएको सम्बन्ध अन्ततः युद्धमै परिणत भयो। सुरुका युद्धमा हारेको नेपालले विसं १८७२ वैशाख ७ मा भएको युद्धमा भने तत्कालीन अङ्ग्रेजलाई पराजित गर्यो ।
अमरसिंह थापाका नाति २० वर्षे उजिरसिंह थापा कर्णेल नियुक्त भएपछि उनकै नेतृत्वमा नेपालले अङ्ग्रेजसँग निर्णायक युद्ध लडेको थियो । कर्णेल थापाको नेतृत्वमा रहेको नेपाली सेनाले अङ्ग्रेज सेनामाथि विसं १८७२ वैशाख ७ गते विजय हासिल गरेको इतिहास छ ।
उपमहानगरपालिकाले बनाएको जितगढी गुरुयोजनामा अहिले नेपाली सेनाले सहकार्य गरिरहेको छ । ‘यो अत्यन्तै महत्त्वको स्थल हो, यसको संरक्षण र व्यवस्थापनका लागि हामीले उपमहानगरपालिकासँग सहकार्य गरेका छौँ’, नेपाली सेनाको गरुडदल गण बुटवलका प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले भने ।