Search
Close this search box.

गैँडाकोट ५ को गुम्बा परिसरमा निर्माणाधिन चौतारो गुरुङ समुदायले भत्काए, जग्गामा चलखेल भईरहेको आरोप

गैँडाकोट, १० वैशाख । गैँडाकोट ५ मा रहेको गणेश मन्दिर र साङ्गे छौईलिङ्ग महाबौद्ध गुम्वाको बिचमा निर्माण सुरु गरिएको चौतारो गुरुङ समुदायले भत्काएका छन् । गैंडाकोटका गुरुङ समुदायले आफ्नो गुम्बाको परिसरमा विना सहमति चौतारो निमार्ण गरेका कारण तनाब सिर्जना भएको बताएका छन् । परापुर्ब काल देखी नै गुरुङ्ग समुदायको चिहानको रुपमा परिचित ठाउँमा अहिले हिन्दु धर्मावलम्बीहरुको एउटा मन्दिरसँगै गुरुङ्ग समुदायको गुम्बा रहेको छ ।

धार्मिक सहिष्णुता अप्नाउँदै मन्दिर र गुम्बा एकै ठाउँमा भए पनि उत्तिकै एकअर्कालाई सम्मान गर्दै हिन्दु र बौद्धिष्टहरुले आ–आफ्नो रितिरिवाज अनुसार पुजा आजा गर्दै आईरहेका छन् । तर बिस्तारै गुम्बाको जग्गामा विभिन्न संघसंस्थाका भौतिक संरचनाहरु बन्न जाँदा गुरुङ्ग समुदायले निमार्ण गरेको गुम्बाको बिकास र विस्तारमा असहज वातावरण सिर्जना भएको गुरुङ्ग समुदायका अगुवाहरुले बताएका छन् । बिभिन्न बहानामा गुम्बाको जग्गामा चलखेल भईरहेको भन्दै अब त्यो सैह्य नहुने उनीहरु बताउँछन् ।

गुम्बाले भोगचलन गर्दै आएको जग्गामा गुम्बा समितिलाई नै नसोधी स्थानीय भूमा पुनले गुम्बा परिसरमा चौतारो निमार्ण गरि बौद्ध धर्मप्रति नै आक्रमण गर्न खोजेको आरोप गुरुङ्ग समुदायले लगाएका छन् । अहिले चौतारो निमार्ण गर्न लागिएको जग्गामा गुम्बा समितिले आवश्यक विभिन्न भौतिक संरचना निमार्ण गर्ने लक्ष्य रहेका कारण चौतारो भत्काउन परेको बताएका छन् । गुम्बाको पछाडी पनि स्थानीय क्लबको भवन बनाईदिने र अगाडीको खाली जग्गामा समेत विभिन्न अनावश्यक भौतिक संरचनाहरु बनाईदिदा गुम्बाको जग्गा साँघुरो बन्दै गएको उनीहरुको गुनासो रहेको छ ।

यस क्षेत्रमा कुनैपनि भौतीक संरचना निर्माण गर्नुपरेको खण्डमा गणेश मन्दिर र गुम्बाका समिती विच छलफल गरेर गर्ने भनियतापनि व्यक्तिगत रुपमा चौतारी निर्माण गरिएको भन्दै गुरुङ समुदाय आक्रोेशित भएका थिए । उनीहरुले उक्त जग्गा गुरुङ समुदायको चिहानडाँडाको रुपमा रहेको र २०६८ सालमा भूमिसुधार मन्त्रालयमा यो जग्गा गुरुङ समाजको नाममा हुनुपर्छ भनेर आवेदन दिएको समेत दावी गरेका छन् ।

गैँडाकोट तमु आदर्श गुरुङ समाजका पुर्व अध्यक्ष प्रजन बहादुर गुरुङले गुरुङ समुदायको नाममा भएको जग्गा अतिक्रमण गरि चौतारो निमार्ण गरेपछि बाध्य भएर भत्काएको बताउनुभयो । तमु हिउँला छोँज धी राष्ट्रिय परिषदको प्रदेश सदस्य समेत रहनुभएका गुरुङले उक्त जग्गा गुरुङ समाजको चिहान राख्ने ठाँउ भएको हुनाले नापी विभागमा चिहान भएर उल्लेख भएको दावी गर्नुभएको छ । सोहि स्थानमा गणेश मन्दिर पनि भएको हिसावले भौतीक संरचना निर्माण गर्दा दुबै समितीको समन्वयमा हुने भनिएतापनि विना जानकारी व्यक्तिगत रुपमा चौतारो निमार्ण गरेको उहाँ बताउनुहुन्छ ।

नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषदका अध्यक्ष ललित गुरुङले सम्बन्धित पक्षले विना जानकारी चौतारी निर्माण गर्न खोज्नु अतिवाद भएको बताउनुभएको छ । यसरी अतिक्रमण गर्दै गएको खण्डमा धार्मिक तथा जातीय द्धन्द हुनसक्ने खतरा बढेको उहाँको भनाई छ ।

आफ्नो पुर्खाले रोपेको पिपलको बोटलाई संरक्षण गर्ने हिसावले चौतारो निर्माण गर्न लागेको स्थानिय भुमा पुनले बताउनुभएको छ । आफ्नो ससुरा टेकबहादुर पुनले धार्मिक रुपले संरक्षण गर्ने हेतुले पिपल रोपेको पुनले दावी गर्नुभयो । उक्त पिपलको संरक्षण गर्ने उद्धेश्यले नगरपालिकाले २ लाख रुपैँया आर्थिक सहयोग गर्ने भएको कारण आफुले चौतारो निर्माण गर्न लागेको पुन बताउनुहुन्छ ।

नेपाल आदिबासी जनजाती गैंडाकोट नगर समन्वय परिषदका अध्यक्ष ललित गुरुङ्ग, गैँडाकोट तमु आदर्श गुरुङ समाजका पुर्व अध्यक्ष प्रजन बहादुर गुरुङ, तमु आदर्श गुरुङ समाजका अध्यक्ष बीर बहादुर गुरुङ्ग, साङ्गे छौईलिङ्ग महाबौद्ध गुम्वाका अध्यक्ष किसन गुरुङ्ग सहितको टोलीले शनिबार निर्माणाधिन अवस्थामा रहेको उक्त चौतारो भत्काएका हुन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान