चितवन, १२ वैशाख । चितवनका सात वटै पालिकामा स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सबै पालिकामा पार्टीगत र स्वतन्त्र उम्मेदवारी परेका छन् ।
भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा एमालेका तर्फबाट विजय सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । सुवेदीले उम्मेदवारी दर्ता गराउन जानुपूर्व बिपी कोइराला, मदन भण्डारी र जीवराज आश्रितको शालिकमा फूल चढाएका थिए । राप्रपासँग चुनावी तालमेल गरेको एमालेले उपमेयरमा उम्मेदवारी दर्ता गराएन । उपमेयर पदमा राप्रपाकी हिमाला गुरुङको उम्मेदवारी परेको छ ।
सत्ता गठबन्धनको तर्फबाट मेयरमा नकेपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छिन् भने उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गर्दै भरतपुरको मेयरमा पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । चारतारे झण्डासहित जुलुस निकालेर पौडेल उम्मेदवारी दर्ता गराउन पुगेका थिए । भरतपुरको मेयरमा कांग्रेसका मोहितजंग पाण्डेले पनि स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका छन् ।
विवेकशील साझा पार्टीको तर्फबाट भरतपुरको मेयरमा प्रवीण काफ्ले र उपमेयरमा पुष्पा सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु ईरिक्सा चढेर उम्मेदवार मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
विप्लव नेतृत्वको नेकपाका नेता दुर्गाप्रसाद शर्माले पनि भरतपुर महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनी पार्टीको भरतपुर महानगर इन्चार्ज हुन् ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट भरतपुरको मेयरमा भक्तिराम गौतम र उपमेयरमा देवी शर्माले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट बाहिरिएको जनमोर्चाले भरतपुरको मेयर र उपमेयरमा उम्मेदवारी दिएको हो ।
रत्ननगर नगरपालिकामा नेकपा एमालेबाट मेयरमा विमला दुवाडीको उम्मेदवारी परेको छ । उनले रत्ननगरको उपमेयरबाट राजीनामा दिएर मेयर पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । रत्ननगरको उपमेयरमा एमालेबाट यादव पाठकले उम्मेदवारी दर्ता गराएका छन् ।
खैरहनी नगरपालिकामा एमालेबाट मेयरमा लालमणि चौधरी र उपमेयरमा कविता उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् ।
माडी नगरपालिकामा एमालेबाट मेयरमा ताराकाजी कुमारी महतो र उपमेयरमा रेशमलाल आचार्यको उम्मेदवारी दर्ता भएको छ ।
एमालेबाट इच्छाकामना गाउँपालिकाको अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवालले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको तर्फबाट गाउँपालिका प्रमुखमा कांग्रेसकी गीता गुरुङ र उपप्रमुखमा माओवादी केन्द्रका प्रताप गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्ती र कालिका नगरपालिकाबाट उम्मेदवारी दर्ताको सूचना प्राप्त हुन सकेको छैन । अन्य पालिकाको पनि पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।