देवचुली, १९ भदौ ।
लायन्स क्लब अफ देवचुली सप्तरंगीको आयोजनामा महिला सशक्तिकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार देवचुली ११ मा रहेको महिला कल्याण बहुउदेश्यीय सहकारी संस्थाको भवनमा देवचुली भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुको सहभागितामा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय महिलाहरुको अवस्थाको विषयमा रहेर अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै तिवारीले किशोरी तथा महिलाहरु स्वयम सशक्त हुनुपर्ने बताउनुभएको थियो ।
पहिलो चरणको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रवक्ता तिल प्रसाद काफ्ले, महिला अधिकारकर्मी मिना खरेल, महिला कल्याण बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष एवम लायन्स देवचुली सप्तरंगीका रत्नामाया विश्कर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।दोस्रो चरणको कार्यक्रममा महिला अधिकारकर्मी मिना खरेल, देवचुली नगरपालिकाका उप–प्रमुख पार्वता तिवारी, लायन्स क्लब अफ सप्तरंगीका क्लस्टर ४ का दुर्गा लक्ष्मी श्रेष्ठको उपस्थितीमा लायन्स क्लब अफ देवचुली सप्तरंगीका मेम्बर पत्रकार धनु भुसालले अन्तरक्रिया गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा पत्रकार धनु भुसालले किशोरी तथा महिलाहरुको वर्तमान अवस्था, हिंसा, दुव्यर्वहार, लागु पदार्थ ओसारपसार , बाल विवाह, महिनावारी जस्ता विविध विषयमा अधिकारकर्मी, उप–प्रमुख र समाजसेविलाई प्रश्न गर्नुभएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा महिला अधिकारकर्मी मीना खरेलले किशोरी तथा महिलाहरु कुनै पनि कुरामा पछि पर्न नहुने बताउनुभएको थियो । उहाँले किशोरी तथा महिलाहरु पछि परेकै कारण धेरै अवसरहरु छुटेको बताउनुभयो । खरेलले महिलाहरुको सहभागिता समाज र देशका निम्ति अर्थपूर्ण हुने बताउँदै स्थानीय सरकारले बाल विवाह, हिंसा,दुर्व्यवहार , लागुपदार्थ ओसारपोसारको तथ्याङ्क संकलन गर्नुपर्ने बताउनुभएको थियो । यसैगरि अन्तरक्रिया कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले अन्य पालिकामा भन्दा देवचुली नगरपालिकामा महिलाहरुको अवस्था राम्रो भएको बताउनुभयो ।
उहाँले नगरपालिकाले महिला दिदीबहिनीहरुका लागि आयआर्जन, सिप मुलक तालिम संचालन गरिरहेको र त्यसमा महिलाहरुको सहभागिता पनि सोंचेको भन्दा बढी रहेको बताउनुभएको थियो । तिवारीले नगरपालिकाले महिलाहरुको आर्थिक विकासका लागि निरन्तर काम गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तर दिने बताउनुभयो । कार्यक्रममा लायन्स दुर्गा लक्ष्मी श्रेष्ठले लायन्स क्लब अफ सप्तरंगीले बालबालिकालाई संगठित गराउने कार्य गरिरहेको बताउँदै महिलाहरुले आफ्नो खुट्टामा आँफै उभिन र क्षमतावान हुन आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा किशोरी ईशा थापा र रितिका पोख्रेलले सूचना प्रवाह नहुँदा तालिम तथा गोष्ठीमा सहभागिता जनाउन नपाएको र महिनावारीको विषयमा अधिकारकर्मी एवम् नगर उपप्रमुखलाई आफ्ना जिज्ञासा राखेका थिए । लायन्स क्लब अफ देवचुली सप्तरंगीका अधयक्ष टि।एम पौडेलको अध्यक्षता रहेको थियो । कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ देवचुली सप्तरङगीका सह–सचिव मैयाँ हमालले गर्नुभएको थियो ।