भाद्र २४, काठमाडौं ।
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन दर्ता भएको उम्मेदवारको सची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने आयोगद्धारा स्वीकृत निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ ।
त्यसैगरि असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रत्यक्षतर्फ लिन नपाउने पनि निर्वाचन आयोगले बताएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था समेत रहेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १४ को उपदफा २ मा समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुन र पहिलो हुने निर्वांचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा समावेश गर्न पाइने छैन भनिएको छ ।
यस्तै प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १४ को उपदफा २ मा समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा समावेश गर्न नपाइने व्यवस्था छ ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय असोज २ गतेका लागि तोकेको छ ।