११ साउन, काठमाडौं ।
सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनमा सभामुखको सहभागिता संविधानविपरित ठहर गरेको छ । न्यायाधीश ईश्वर प्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सभामुख बाबुराम गौतमको हस्ताक्षर लिएर दाबी गर्न गएका उद्धब थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरेको हो ।
बदर भएसँग सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले त्यसका आधारमा भएको मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गरेको थियो । साथै ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । नभए अर्को उपधारामा जान भनिएको छ ।
अर्थात अब फेरि संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रयास हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ ।
कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।