१३ साउन, काठमाडौं
कोशी प्रदेशमा सरकार गठनका लागि सत्ता गठबन्धनका नेताहरुले राप्रपाको साथ चाहेका छन् । तर अहिलेसम्म राप्रपा सकारात्मक भने छैन । मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्दै बिहीबार सर्वोच्च अदालतले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङलेले चार दिन (१६ गते अपराह्न ५ बजेसम्म) को समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।
तर अहिलेसम्म सत्ता गठबन्धन र एमाले दुबै पक्षसँग बहुमत छैन । सत्ता गठबन्धनको सबभन्दा ठूलो दल कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) का एक प्रदेशसभा सदस्य छन् ।
माओवादीबाट निर्वाचित कोशि प्रदेशका सभामुख बाबुराम गौतमलाई गठबन्धनले राजीनामा गराएर भए पनि प्रदेश सरकार बनाउने दाउमा छ तर गौतम तयार देखिएका छैनन् ।
राप्रपालाई सरकारमै ल्याउने गरी पनि छलफल भइरहेको माओवादी केन्द्रका एक नेताले बताएका छन् यद्यपी सहमती भने हुन सकेको छैन । शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका छन् ।
लिङ्देनसँग छलफल गर्नु अघि माओवादी केन्द्र र कांग्रेसको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान बसेको थियो । विहान भएको छलफलले आइतबार विहान ९ बजे बस्ने बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई बोलाउने निर्णय गरेको बताईएको छ ।