साउन १४, काठमाडौं
अभिनेता सारुक मोबाइलको फरेन्सिक ल्याब परीक्षण पश्चात आएको सुसाईट नोटले घटनालाई नयाँ ट्विस्ट दिएको छ । मोबाइलको नोटप्याडमा सारुकको ‘सुसाइड नोट’ फेला परेको छ, जसमा उनले कसैलाई पनि आरोपित गर्न चाहेका छैनन् । प्रहरी स्रोतका अनुसार उनले सुसाइड नोटमा थुप्रैको नाम लिएका छन्, तर सकारात्मक रुपमा । नोटमा नम्रताको नाम पनि उल्लेख रहेको स्रोतले बताएको छ ।
अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेपछि अभिनेत्री नम्रता श्रेष्ठ माथी केही मिडियाहरुले सारुकको आत्महत्याको कारण उनी नै हुन् भन्ने अर्थ लाग्ने गरी समाचारहरु पनि आए । आत्महत्या गरेकै दिन नम्रता र सारुक ‘ह्यासट्याग माया’ को सुटिङमा थिए । सुटिङकै क्रममा उनीहरुबीच विवाद भएको तथा होटलमा फर्किएपछि पनि झगडा गरेका कुराहरु चलचित्रको निर्माण टीमले बाहिर ल्याए । यसबाट नम्रता तनावमा थिइन् । उनी देश छोडेर भाग्न तयारी अवस्थामा रहेको समाचारसमेत बाहिरिए ।
प्रहरीलाई नम्रतालाई अनुसन्धानमा तान्न दबाबसमेत परेको थियो । तर, उनीविरुद्ध कसैले उजुरी नगरेकाले सोधपुछको लागि नबोलाइएको स्रोतले जनाएको छ । प्रहरीले एकातर्फ मोबाइलको परीक्षण रिपोर्ट कुरिरहेको थियो भने अर्कोतर्फ मृतकका आफन्तहरुको जाहेरी तर मोबाईलको परीक्षण रिपोर्ट पश्चात भने घटनाले अर्कै मोड लिएको छ ।
प्रहरीले घटना आत्महत्या दुरुत्साहन हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको थियो । सारुकका परिवार तथा ‘ह्यासट्याग माया’का निर्माण पक्षसँग बयान लिइएको थियो । तर, सारुकको सुसाइड नोटपछि प्रहरी ढुक्क भएको छ । यो सँगै नम्रता माथि लागेका आरोपहरु मिथ्या जस्तै भएका छन् ।