साउन १७, विराटनगर
सत्ता गठबन्धन दल नेकपा माओवादीले मन्त्री पठाउने निर्णय गर्न नसकेपछि नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण स्थगित भएको छ । आज १०ः३० बजेका लागि तय भएको मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम राकिएको हो । आज गठबन्धन दलबाट एक–एक जनालाई मन्त्री बनाउने तयारी थियो तर माओवादीबाट कस–कसलाई मन्त्री बनाउने भन्ने विषयमा विवाद भएको छ । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएको थियो तर, अन्तिम समयमा जीवन आचार्यले पनि मन्त्री दाबी गरेपछि विवाद चुलिएको हो ।
शपथ समारोहमा सहभागी हुन एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की उपसभामुख सिर्जना दनुवारलगायतका अतिथि पनि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । अचानक शपथग्रहण कार्यक्रम स्थगित भएपछि शपथ लिन ठिक्क परेकाहरू फर्किएका छन् । नयाँ मन्त्रीको सूचीमा रहेका नेकपा एसका कमल जबेगु पनि फर्किए ।