२० साउन, चितवन
चितवनको मनकामना अस्पतालमा उपचारका क्रममा गर्भवतीको मृत्यु भएको घटनामा अस्पतालले गल्ती स्वीकार गरेको छ । अस्पतालमा गएराती भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा मृत्यु भएको थियो । आज आफ्न्त र अस्पताल प्रशासनविच भएको वार्तामा अस्पतालले गल्ती स्वीकार गरेको हो । उपचारका क्रममा चिकित्सकले साल निकाल्ने क्रममा लापरवाही गरेपछि मृत्यु भएको अस्पतालले स्वीकार गरेको स्रोतले बताएको छ ।
सहमती अनुसार अस्पतालले गल्ती स्वीकारदै पिडित पक्षलाई २७ लाख ५० हजार रुपैंया दिएको छ । वार्ताकै क्रममा पिडित पक्षलाई अस्पतालले चेक हस्तान्तरण गरेको वार्तामा सहभागि आफन्तले नारायणी अनलाइनलाई बताए । ‘सुरुमा आफन्तले ४० लाख डिमाण्ड गरेको थियो, अस्पतालले १० लाख मात्रै दिने भनेको थियो । पछि २७ लाख ५० हजारमा सहमती भयो, स्रोतले भन्यो ।’ चार महिने गर्भवतीको मृत्यु भएपछि मृतकका आफन्तहरुले चिकित्सकले लापरवाही गरेको भन्दै दिनभर अस्पताल घेराउ गरेका थिए । आज दिनभर भएको अस्पताल प्रशासन र आफन्तहरु विचको वार्तामा अस्पतालले गल्ती स्वीकारेपछि शव उठाएको मृतकका देवर सन्तोष चौधरीले बताए ।
चार महिनाको गर्भपतनको लागि अस्पताल आएकी उनको अपरेसन पछि अत्याधिक रक्तश्राव भएर मृत्यु भएको हो । अस्पतालमा केहीबेर तनाबको अवस्था समेत सृजना भएको थियो । अस्पताल प्रशासनले दिनभर प्रहरीको सुरक्षा घेरा लगाएको थियो । घटनाको बिषयमा अस्पतालले आधिकारीक रुपमा जानकारी गराएको छैन । अस्पताल प्रशासनसंग नारायणी अनलाइनले पटकपटक सम्पर्क गर्न खोज्दा घटनाबारे जानकारी दिइएको छैन । नारायणी अनलाईन