रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहायता

साउन २५, काठमाण्डौं

रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहायता दिने भएको छ । वैदेशिक रोजगार बोर्डले यस्तो आर्थिक सहायता दिन लागेको हो । यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई ७ लाख दिँदै आएको थियो । यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ ।

श्रमिकले वैदेशिक रोजगारीमा जाने बेलामा तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रूपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।

यस्तो सहायता रकम २०६५ सालदेखि मृतकका आफन्त तथा अंगभंग भएका श्रमिकलाई दिन थालिएको हो । सुरूमा आर्थिक सहायता स्वरूप मृतकका परिवारलाई तीन लाख रूपैयाँ दिने गरिएको थियो । आर्थिक वर्ष २०७४⁄७५ देखि बढाएर ७ लाख पु¥याइएको थियो ।

मृतक श्रमिकका छोराछोरीलाई प्रदान गरिँदै आएको शैक्षिक वृत्ति रकम पनि बढाइएको छ । बोर्डले मृतकका छोराछोरीलाई शिशु कक्षादेखि १२ कक्षासम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । छात्रवृत्ति पनि श्रमिकले वैदेशिक रोजगारीमा जाने क्रममा जम्मा गरेको कोषकै रकमबाट प्रदान गरिँदै आएको छ । बोर्डले यसअघि शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययनका लागि वार्षिक ८ हजार दिँदै आएको थियो। अब भने १२ हजार पाँच सय रूपैयाँ दिन लागिएको हो । त्यस्तै, ९ कक्षादेखि १२ कक्षासम्म वार्षिक १२ हजार रूपैयाँ प्रदान गरिँदै आएकोमा १५ हजार पाँच सय रूपैयाँ दिने निर्णय भएको हो ।

कामको सिलसिलामा नेपालबाट विभिन्न गन्तव्य मुलुक पुगेका ठूलो संख्यामा नेपाली युवाहरूले ज्यान गुमाउने गरेका छन् । कतिपय अंगभंग भएर समेत फर्कने गरेका छन् । पछिल्लो तथ्यांक हेर्दा वार्षिक एक हजारभन्दा धेरैले विभिन्न मुलुकमा ज्यान गुमाउने गरेका छन् । पाँच सयको हाराहारीमा अंगभंग भएर फर्कनु परेको अवस्था छ । बोर्डका अनुसार मृत्यु हुनेमा धेरैजसो प्राकृतिक कारण देखाइएको पाइन्छ । त्यस्तै आत्महत्या, दुर्घटना, हार्टअट्याक जस्ता कारण पनि मृत्यु हुने गरेको उल्लेख गरिएको छ । काम गर्ने क्रममा तथा सडक दुर्घटनालगायत कारण अंगभंग भएर फर्कने गरेका छन् ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी

दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या, २ घाईते

किसान साकोसका २४ वटै सेवाकेन्द्र मा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द, उपाध्यक्षमा रोशन र कोषाध्यक्षमा पदम निर्विरोध चयन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ६ घर जलेर नष्ट