साउन २८, काठमाडौं
काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हैजालगायत रोगको जोखिम न्युनिकरण गर्न भन्दै पानीपुरी, चटपटे लगायत बिक्री गर्न रोक लगाउने प्रस्ताव गरेको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा खुला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने प्रस्तावबारे छलफल भएको हो ।
पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ताहरु झुम्मिने गरेकोले हैजालगायत रोग छिट्टै सर्न सक्ने जोखिम बढी भएको बैठकमा काठमाण्डौ महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो बर्खाका बेला यस्ता खानेकुरा बिक्रीमा रोक लगाउनु पर्ने हुन सक्छ । ‘खुल्ला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो । यसलाई तत्काल रोक लगाउनुपर्छ,’ उहाँले भन्नुभयो । सडक किनारामा तरकारी र फलफूल सस्तोमा किनेर ल्याएर भाग लगाएर बेच्ने काम जनस्वास्थ्यका दृष्टिले जोखिमपूर्ण रहने उहाँले भनाई थियो ।
यस्तै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बैठकमा बोल्दै भन्नुभयो ‘खुल्ला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्छ ।’ बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन उहाँले निर्देशन समेत दिनुभयो । ‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट छिटो संक्रमण फैलिन्छ । यसको स्रोतहरु मासु पसल, दूध डेरी, तरकारी तथा फलफूल पसल हुन्,’ उहाँले भन्नुभयो, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारबाहीको दायरामा ल्याउनु पर्छ ।’