साउन ३२, कैलाली
कञ्चनपुरमा बुधवार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका १० का ३६ वर्षीय दिनेश वडको मृत्यु भएको हो
हिजो साँझ करिब ७ बजे तिर पसलमा सामान खरिद गर्न पुगेका वड नजिकै टांगिएको तारबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । करेन्ट लागे लगत्तै उनलाई महाकाली प्रादेशिक अस्पताल लगिए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
विद्युत् प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेको भन्दै अहिले त्यहाँ मृतकका आफन्त तथा स्थानीय आन्दोलन गरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका ५ सुखासालमा सडक अवरुद्ध पारेका छन् ।
यस्तो लापरबाही गर्ने विद्युत् प्राधिकरणको कर्मचारीलाई कारबाही तथा मृतकको परिवारलाई क्षतिपूर्तिको माग राख्दै उनीहरुले आन्दोलन गरेका हुन् । मृतकका आफन्तले क्षतिपूर्ति नपाउँदा सम्म शव नबुझ्ने बताएका छन् । शव अहिले महाकाली अस्पतालमै राखिएको छ ।