भाद्र १७, काठमाण्डौं
पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेबसाइट सञ्चालनमा आएको छ ।
आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले udb.nepalpolice.gov.np वेबसाइटको उद्घाटन गरेका हुन् । यसलाई नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने उनको धारणा थियो । वेवसाइटलाई प्रभावकारी रूपमा संचालन गर्दै धेरै भन्दा धेरै सरोकारवाला व्यक्तिहरूको पहुँचमा पु¥याई बढी भन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरू सनाखत गर्न सहज र सक्षम हुने विश्वास उनले व्यक्त गरे ।
नागरिक स्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिक रूपमै शवको सनाखत हुने वातावरण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण संकलन गरेर वेवसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्नुपर्ने बताए ।
दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी बेवारिसे शवहरूको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवहरूको विस्तृत विवरणसहित छुट्टै वेबपेज निर्माण गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले २०७८ वैशाख २ गते निर्णय गरेको थियो ।
त्यसअनुसार नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको पहलमा पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण समेटी सम्पूर्ण विवरण एकै ठाउँबाट जानकारी लिन सकिने तथा कसैले व्यक्तिको पहिचान गरेमा आफ्नो जानकारी र विवरण रिपोर्ट गर्न सक्ने गरी निर्माण गरिएको वेवसाइट आजैबाट प्रयोगमा आएको उक्त अवसरमा जानकारी गराईएको थियो ।