अब फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताहरुले यि एप्सहरु चलाउन शुल्क तिर्नु पर्ने भएको छ । मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको हो ।
विज्ञापन तथा प्राइभेसीलाई लिएर युरोपेली युनियनका तर्फबाट लगातार दबाब बढिरहेको बेला मेटाले आफ्ना सेवाबापत शुल्क लिने निधो गरेको छ । मेटाको योजना अनुसार युरोपेली युनियन सम्बद्ध देशका कुनै पनि प्रयोगकर्ताका लागि फेसबुक तथा इन्स्टाग्राममध्ये एउटाका लागि शुल्क तिर्दा अर्को प्लाटर्फम निःशुल्क चलाउन पाइने व्यवस्था गरिनेछ साथै सशुल्क सेवा लिनेका लागि फेसबुक तथा इन्स्टाग्राममा विज्ञापन देखाइनेछैन ।
फेसबुक तथा इन्स्टाग्रामको सशुल्क संस्करणका लागि कति शुल्क तिर्नुपर्ने छ भन्ने बारेमा अहिलेसम्म खुलाइएको छैन । मेटाले पनि युरोपमा सशुल्क सेवा सुरुआत गर्ने समाचारका विषयमा कुनै आधिकारिक भनाइ भने सार्वजनिक गरेको छैन । एजेन्सी