१८ भदौ, काठमाडौं
भारतको राष्ट्रिय क्रिकेट टीमसँग नेपालले इतिहासमै पहिलो पटक प्रतिस्पर्धाको अवसर पाउँदा वर्षा वाधक बन्न सक्ने खतरा देखिएको छ । आज दिनभरि नै पानी पर्न सक्ने श्रीलंकाको मौसम पूर्वानुमान विभागले भविष्यवाणी गरेको थियो । सो अनुरुप नै आज बिहानैदेखि मौसम बदली भई अहिले सिमसिम पानी परिरहेको छ ।
श्रीलंकाको केन्डीस्थित पल्लेकेले रंगशालामा एसिया कपको समूह चरण अन्तरगत नेपाल–भारत म्याच हुन लागेको हो । आजको खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।
आज पानी पर्ने सम्भावना ८१ प्रतिशत रहेको प्रक्षेपण गरिएको थियो । यस्तै तापक्रम २७ डिग्री सेल्सियस रहने अनुमान छ । ह्यूमिडटी ८१ प्रतिशत र हावाको गति १५ देखि २५ किलोमिटर प्रतिघण्टा रहन सक्ने बताइएको छ ।
आज मध्यान्नको समयमा पानी पर्ने सम्भावना ८९ प्रतिशत छ । यस्तै दिउँसो वर्षात्को सम्भावना ७१ प्रतिशतमा झर्ने छ भने बेलुकी ४३ प्रतिशतमा झर्नेछ । दिनको तुलनामा साँझ पानी पर्ने कम सम्भावना छ ।
आजको खेल नेपाल र भारत दुवै टिमका लागि सुर फोरमा जानका लागी जित अनिवार्य हो । हार्ने टीम एसिया कपबाट बाहिरिने र जित्नेले सुपर ४ मा स्थान बनाउने समीकरण छ । यदि वर्षातका कारण खेल रद्द भएमा नेपाल स्वतः बाहिरिने छ ।