२२ भदौ, काठमाडौं
गायक प्रमोद खरेलले प्रतिलिपी अधिकार उल्लंघनको विषयमा विन्धवासिनी म्यूजिक प्रा.लि.का सञ्चालक बिरुद्धको मुद्दामा जीत हाँसिल गरेका छन् । जिल्ला अदालत काठमाडौंले प्रतिलिपी अधिकार उल्लंघनको विषयमा विन्धवासिनी म्यूजिक प्रा.लि.का सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई दोषी ठहर गरेको छ । उनीहरुलाई प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा न्यायाधीश उत्तम सिलुवालको इजलासले दोषी ठहर गरेको हो ।
उनीहरुमाथि ३ वर्षभन्दा बढी कैद हुने भएपछि सजाय निर्धारणका लागि फेरि सुनुवाइ गर्न आदेश दिएको छ । गायक प्रमोद खरेलले आफूमा निहित प्रतिलिपी अधिकारको विन्धवासिनी म्यूजिक प्रालीले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए । त्यसका आधारमा सरकारी वकिलले उनीहरुमाथि मुद्दा चलाएका थिए ।