असिफ गुरुङ्ग
भाद्र २३, गैंडाकोट
Higher Institutions and secondary schools’ Association Nepal हिसान नवलपुरले संंस्थामा आवद्ध भएका जिल्लाका संस्थागत विद्यालयहरु मध्येबाट २०७९ सालको एस.एल.सी. परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच बधाई दिदै सम्मान गरेको छ । शनिबार गैंडाकोट २ मा अवस्थित अक्सफोर्ड कलेजको सभाहलमा एक औपचारिक कार्यक्रमका बीच बधाई तथा सम्मान गरेको हो ।
जिल्लाका सस्थागत विद्यालयबाट एस.एल.सी. दिने जम्मा ३४ जना विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको हो । कुल १० विद्यालयबाट उक्त विद्यार्थीहरु सम्मानित भएका हुन् । जिल्लामा नै उत्कृष्ट नतिजा ल्याई जिल्ला प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थीलाई कार्यक्रममा मायाको चिनो र अबिर लेपन गरि सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा प्रत्येक विद्यालयका प्रथम, दोश्रो र तेस्रो हुने विद्यार्थीहरु सम्मानित भएका हुन् ।
नवलपुर जिल्लामा संस्थागत विद्यालय तर्फ सर्बोत्कृष्ट नतिजा ल्याई जिल्ला प्रथम हुनेमा गैैंडाकोट नमुना सेकेन्डरी स्कूल, गैंडाकोटका मौक्ष गैरे ३.८२ जीपीए, दोश्रो हुने गैैंडाकोट नमुना सेकेन्डरी स्कूल गैंडाकोटकै समिर श्रेष्ठ ३.८१ जीपीए र तेश्रो हुनेमा विजय सामुदायिक शिक्षा सदन गैंडाकोटका अनुसा अधिकारी र एलिसा पौडेल ३.७५ जीपीए र अक्सफोर्ड सेकेन्डरी स्कूल गैंडाकोटका ईमरान आलम ३.७५ जीपीए रहेका छन् । उनीहरुलाई कार्यक्रममा अबिर लेपन गरि मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी भएका वक्ताहरुले विशेष गरि विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दे विद्यार्थीको आगामी शैक्षिक भविष्यको शुभकामना दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा ब्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले सम्मानित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै राष्ट्रिय परीक्षा बोर्ड र हिसानको सह सम्बन्धको बारेमा पनि प्रष्ट पार्नु भएको थियो । अहिलेको समयमा विद्यार्थीहरु माध्यामिक शिक्षा मात्र पास गरेर विदेश जाने प्रचलनले विद्यार्थीहरुको उच्च शिक्षामा ब्रेक लाग्ने गरेको बताउनु भयो । बिदेशमा अध्ययन गर्ने भनेर गयतापनी त्यहाँको दुख कष्ट र आर्थिक मोहका कारण धेरै विद्यार्थीहरुले अध्ययनलाई निरन्तरता दिन नसकेको बताउनु भयो । विद्यार्थीहरुलाई कमसेकम देशमा नै स्नातक सम्मको अध्ययन गरेर विदेश जाँदा धेरै अवसरहरु लिन सकिने पनि बताउनु भयो । बिदेश गएका विद्यार्थीहरुलाई पनि बिदेशमा सिकेको ज्ञान देशमा प्रयोग गरेर देश भित्रै सम्भावनाहरुको खोजी गरि काम गर्नु अहिलेको आवश्यक्ता रहेको बताउनु भयो । अहिलेको विश्वब्यापिकरणको समयमा देशमा नै बसेर बिदेशका कम्पनीहरुमा जागिर गर्न सकिने पनि बताउनुभयो । त्यसका लागि विद्यार्थीहरुले बिश्वमा विक्न सक्ने सक्षम ब्यक्ति बन्नमा जोड दिनुपर्ने र त्यसका लागि उच्च शिक्षा लिनैपर्ने बताउनुभयो । माध्यमिक शिक्षा अर्थात कक्षा १२ मात्र अध्ययन गरेर बिदेश जाँदा उस भित्र धेरै सम्भावना भए पनि उसको शिक्षा १२ कक्षामा नै ब्रेक लाग्ने र बिश्वबजारलाई चाहिने उच्चकोटीको मानबश्रोत बन्न नसकेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवल कार्यालयबाट बाबुराम भण्डारी, कपिल खनाल, हिसान गण्डकीका उपाध्यक्ष छबीलाल कंडेल, जिल्ला शिक्षा समन्वय नवलपुरका प्रमुख रुद्र शर्मा, प्याब्सन नवलपुरका अध्यक्ष दीपक रावत, गैंडाकोट नगर प्याब्सनका अध्यक्ष लक्ष्मी प्रसाद दवाडी लगायतको बिशेष मन्तब्य रहेको थियो । कार्यक्रममा अक्सफोर्ड कलेका सह–प्राचार्य तिलक पन्थीले अतिथीहरुलाई स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका बीच अक्सफोर्ड कलेका बोर्ड मेम्बर भीम भण्डारीले अक्सफोर्ड कलेजको शिक्षाको बारेमा विद्यार्थी तथा अभिभावहरुका लागि आफ्ना कुराहरु राख्नु भएको थियो । कार्यक्रम हिसान नवलपुरका अध्यक्ष बिन्दु कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण हिसान नवलपुरका सचिब हिरालाल अर्यालले गर्नुभएको थियो । बधाई तथा सम्मान कार्यक्रममा हिसान नवलपुरका पदाधिकारी एवं सदस्यहरु सबैको उपस्थिती रहेको हिसान नवलपुरका कोषाध्यक्ष लक्ष्मण कंडेलले जानकारी दिनुभयो ।