Search
Close this search box.

नेपाली चलचित्र ‘एक भगवत गीता’ को नामलाई लिएर उत्पन्न विवादको टुङ्गो लाग्यो

प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली चलचित्र ‘एक भगवत गीता’ को नामलाई लिएर उत्पन्न विवादको टुङ्गो लागेको छ । चलचित्र विकास बोर्डमा आयोजित छलफलपछि दुवै पक्ष सहमतिमा आएका हुन् । आइतबार दिउँसो चलचित्र विकास बोर्डमा फिल्मकर्मी, फिल्मको टिम र हिन्दूवादी संस्थाका प्रतिनिधिहरुबीच भएको २ घण्टा लामो छलफलबाट फिल्मको नयाँ शीर्षक ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) राख्ने सहमति जुटेको हो ।

हिन्दू धर्मग्रन्थ ‘श्रीमद्भागवत गीता’को नाममा फिल्म बनाएको भन्दै हिन्दूवादी संस्थाहरुले आपत्ति जनाएका थिए । र, फिल्मको नाम परिवर्तनको माग राख्दै बोर्ड र सूचना मन्त्रालयमा निवेदन समेत बुझाएका थिए । यसपछि बोर्डले दुई पक्षबीचको विवाद मिलाउन तत्काललाई फिल्मको सेन्सर सिफारिस रोकेको थियो । विवाद मिलेसँगै आइतबार नै फिल्मले सेन्सर सिफारिस पाउने भएको छ ।

‘गीता एक प्रेमकथा’, ‘गीता भागवत’ जस्ता थुप्रै नामहरूमा छलफलपछि ‘एक भागवत र एक गीता’ नाममा दुवै पक्ष सहमत भएका हुन् । सो नामको मुन्तिर ‘सामाजिक कथा’ लेख्ने पनि पनि सहमति छ । चलचित्र विकास बोर्डले आजै चलचित्रलाई सेन्सर सिफारिस दिनेछ ।

फिल्मको नयाँ शीर्षक निर्देशक दीपेन्द्र के. खनालले जुराएका हुन् । नामलाई लिएर सहमति जुट्न नसकिरहँदा उनले ‘एक भागवत् एक गीता’ शीर्षक सिफारिस गरेका थिए । त्यसमा हिन्दूवादी संस्थाका प्रतिनिधिहरु सकारात्मक देखिए । र, उनीहरुले शीर्षकमा ‘र’ थप्नुपर्ने तथा ब्राकेटभित्र सामाजिक कथा लेख्नुपर्ने सर्त अघि राखे । त्यसमा निर्माण टिम सहमत भएपछि विवाद सल्टिएको हो ।

छलफलको क्रममा आधा दर्जन बढी शीर्षक सिफारिस भएका थिए । ‘एक भागवत् र एक गीताको प्रेमकथा’, ‘एक भागवत् र एक गीताको कथा’, ‘एक गीता भगवत्’, ‘एक भागवत्’ या ‘एक गीता’, ‘अर्को भागवत् गीता’, ‘एक भागवत–गीता’ आदि नाम सिफारिस भएको थियो । नयाँ शीर्षकमा सहमति जुटेपछि बोर्ड अध्यक्ष भुवन केसीले दुवै पक्षलाई खादा लगाएर धन्यवाद व्यक्त गरेका थिए ।

दुई पक्षबीच भएको सहमतिले भोलि हुनसक्ने ठूलो दुर्घटना टरेकोमा अध्यक्ष केसीले खुसी व्यक्त गरे । ‘सहमति नभएको भए भोलि ठूलो दुर्घटना पनि हुन सक्थ्यो । त्यो नहोस् भन्नकै लागि बोर्डले सहमतिको प्रयास गरेको थियो,’ उनले भने, ‘बोर्डले सेन्सर सिफारिस रोकेका थिएन र रोक्न पनि मिल्दैन । दुई पक्षबीच विवाद उत्पन्न भएपश्चात् अभिभावक संस्थाले आफ्नो भूमिका निर्वाह गरेको हो ।’

फिल्मको टिम र हिन्दूवादी संगठनबीचको छलफलमा निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार दीपकराज गिरी, निर्देशक तथा कलाकार खगेन्द्र लामिछाने, निर्माता तथा निर्देशक कृषा चौलागाईं लगायतको उपस्थिति रहेको थियो । छलफलमा हिन्दूवादी संगठनका प्रतिनिधिहरुले बोर्ड अध्यक्ष भवन केसीको संयमता र धैर्यताले नै सहमतिको वातावरण बनेको भन्दै प्रशंसा गरेका थिए ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान