शनिवार बसेको गण्डकी प्रदेश सभा बैठकमा आम सञ्चारसहित २ विधेयक टेबल भएका छन् । आमसञ्चार सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक र बिउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक टेबल भएको हो । कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले दुई विधेयक प्रदेश सभामा टेबल गरेका हुन् ।
बिजबिजन विधेयक भदौ १५ गते र आम सञ्चार विधेयक भदौ २४ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो । स्वतन्त्र, मर्यादित र जिम्मेवार बनाई सञ्चारको हकलाई थप प्रभावकारी बनाउन कानुनी व्यवस्था गर्न आम सञ्चार विधेयक तयार गरिएको हो ।
प्रदेशमा बिउ, बिजन, उत्पादन, प्रशोधन तथा परीक्षण गरी गुणस्तरीय बिउको उपलब्धतामार्फत उत्पादकत्व र उत्पादन वृद्धि गर्न बिउबिजन विधेयक ल्याइएको हो। प्रदेश सभाको अर्को बैठक असोज ४ गते बस्ने तालिका छ ।