असोज २, काठमाडौं
सिमकार्ड डुप्लिकेसन गरी ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
रु छ लाख दुई हजार पाँच सय ४८ ठगी गरेको अभियोगमा प्रहरीले उक्त ब्यक्तिलाई सार्वजनिक गरेको छ ।
काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली पक्राउ परेको प्रहरीले जनाएको छ ।
पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गर्ने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताएका छन् ।
त्यसपछि मोबाइल बैंकिङ एक्टिभ गराई पीडितको बैंक खाताबाट विभिन्न बैंक खाता तथा वालेटमा पटक–पटक गरी रु छ लाख दुई हजार पाँच सय ४८ ट्रान्सफर गरी सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दिवालीलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।